बागलुङको हरिचौर–मल्म–पाण्डवखानी रणनीतिक सडक स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। ‘एक निर्वाचन क्षेत्र–एक रणनीतिक सडक’ कार्यक्रममा परेका ८ किलोमिटर सडकमध्ये हाल ७० प्रतिशत भौतिक प्रगति पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।
ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले दुई वर्षमा २५ प्रतिशत मात्र काम गरेपछि म्याद थपिएको थियो। म्याद थपिएसँगै काममा तीव्रता आएर ५ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार तयार, १ किलोमिटर ढलान सम्पन्न, र बाँकी २ किलोमिटरमा पूर्वाधार निर्माण जारी रहेको छ।
सडक डिभिजनका इन्जिनियर सागर भण्डारीका अनुसार आर्थिक प्रगति ६० प्रतिशत पुगेको छ। हालको गतिमा पनि काम पूरा गर्न अर्को एक पटक म्याद थप्नुपर्ने सम्भावना रहेको उनले बताए। निर्माण व्यवसायीलाई भुक्तानीमा कुनै समस्या नरहेको जानकारी दिइएको छ।
२०७९ भदौमा रु. २५ करोड २० लाखमा सम्झौता भएको यो सडक २०८२ फागुन ५ भित्र सम्पन्न गर्ने लक्ष्य छ। सडक कालोपत्र भएपछि गलकोट नगरपालिका, बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्ने करिब ४० किमि लामो मार्ग सहज हुने बताइएको छ।

