बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आइतबार बिहान भएको आगलागीमा एक जना घाइते भएका छन् भने लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
दाँग डाँडखर्कका देबिराम घिमिरेको घरमा अदिया गरी बस्दै आएका बडिगाड–७ टुनिबोटका चन्दन घर्ती बसेको दुईतले गोठमा बिहान करिब ४ः३० बजे आगलागी भएको स्थानीयले बताएका छन्। पानी तताउने क्रममा एक्कासी आगो लागेको प्रारम्भिक अनुमान छ। आगो निभाउने क्रममा घरधनी चन्दन घर्ती घाइते भएका छन्। उनलाई उपचारका लागि गल्कोट नगर अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर ५ वटा बोका र ४ वटा बाख्रा जलेर मृत्यु भएको छ भने २ वटा भैँसी घाइते भएका छन्। साथै, घरगोठसहित करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाबारे थप अनुसन्धानका लागि खार प्रहरी चौकीले प्रक्रिया अघि बढाएको छ। आगलागीले अदिया गरी बस्ने निम्न–वर्गीय घर्ती परिवारलाई थप आर्थिक संकट परेको स्थानीयको भनाइ छ।

