गलकोट नगरपालिका १० पाण्डवखानीमा रहेको न्यु घुम्टे एजुकेशनल एकेडेमीमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।
जापानमा आफ्नो कर्मथलो बनाएर केही समय कार्यरत रहेका श्री नविन श्रीस मगर जन्मथलो फर्किएको अवसरमा न्यु घुम्टे एजुकेशनल एकेडेमी, पाण्डवखानीले विशेष स्वागत तथा सम्मान गरेको छ।
विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा स्थानीयबासीको उपस्थितिमा सम्पन्न कार्यक्रममा मगरलाई खादा, फूलमाला र शुभकामना सहित सम्मान गरिएको विद्यालयले जनाएको छ। विदेशमा रहेर पनि गाउँ, समाज र विद्यालयप्रति उनले राख्दै आएको निरन्तर भावनालाई कदर गर्दै विद्यालयले स्वागत कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमका अध्यक्ष रुद्र काउचाले विदेशमा रहेर युवाहरूले जन्मथलोप्रति देखाएको समर्पण समाजका लागि प्रेरणादायी हुने बताए। स्वागत समारोहको सञ्चालन तारा काउचाले गरेका थिए भने स्वागत मन्तव्य शिक्षक खिम काउचाले प्रस्तुत गरेका थिए।
स्वागत कार्यक्रमकै अवसरमा नविन श्रीस मगरले विद्यालयलाई रु २० हजार हस्तान्तरण गर्दै सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे।
समारोहमा बोल्दै श्रीसले भने, “विदेशमा बसेर पनि मन सधैं गाउँमै हुन्थ्यो। न्यु घुम्टे एजुकेशनल एकेडेमीले दिएको आधार र शिक्षाको कदर गर्दै म भविष्यमा पनि विद्यालय र समुदायको यथाशक्य सहयोगमा साथ रहनेछु,” उनले भावुक हुँदै बताए।
कार्यक्रममा स्थानीय अभिभावक, सामाजिक अगुवाहरू तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ।

