गलकोट नगर अस्पतालमा अब सेवाग्राहीले कागज बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य हुने भएको छ। अस्पतालले डिजिटल स्वास्थ्य कार्ड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो।
यो सेवा सञ्चालनमा आएपछि विरामीको प्रयोगशाला रिपोर्ट, प्रिस्क्रिप्सन तथा अन्य स्वास्थ्य विवरण अस्पतालका सम्बन्धित विभागहरूले कम्प्युटरमै हेरेर सेवा प्रदान गर्न सक्नेछन्।
यसले गर्दा हात हातमा कागज बोकेर हिँड्नुपर्ने समस्या हट्ने, पुनः भेटमा आउँदा पुर्जा बिर्सने वा हराउने समस्या समाप्त हुने, र सेवा प्रवाहमा छरितोपन, पारदर्शिता र तीव्रगतिमा वृद्धि हुने बताइएको छ।डिजिटल कार्डमार्फत प्राप्त हुने सबै विवरण अस्पतालको डाटा सेन्टरमा सुरक्षित रूपमा भण्डारण हुनेछ, जुन कार्ड जेनेरेट गर्ने विशेष सफ्टवेयरमार्फत सञ्चालित रहनेछ। यस महत्वपूर्ण प्रयासका लागि विश्व स्वास्थ्य संगठन मा कार्यरत डा. दीपेन्द्र गौतम तथा आईटी इन्जिनियर विरोद कट्टेलको उल्लेख्य सहयोग रहेको भन्दै अस्पताल प्रशासनले धन्यवाद ज्ञापन गरेको छ।


