बागलुङ । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारिस भएर आएका प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार आकांक्षीको नाम रायसहित प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिबाट प्राप्त सबै नामलाई माथिल्लो समितिमा पठाउने निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले उम्मेदवार सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिकै भएको स्पष्ट पारे ।
“उम्मेदवार सिफारिस गर्ने अधिकार क्षेत्रीय समितिलाई छ, जिल्लाले आफ्नो राय मात्रै दिने हो,” सचिव शर्माले भने, “त्यसै अनुसार क्षेत्रबाट आएका सबै नामलाई रायसहित प्रदेश समिति मार्फत केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ ।”
बैठकले कांग्रेस बागलुङको वीपी स्मृति भवन निर्माण कार्यलाई सम्पन्न गर्न थप योगदान गर्न सबै नेता–कार्यकर्तालाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी पार्टीको आगामी महाधिवेशनलाई केन्द्रमा राख्दै क्रियाशील सदस्यता नवीकरणको काम मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको सचिव शर्माले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर २ को सदस्यता नवीकरण फाइल जिल्लामा आइसकेको छ र इन्ट्रीको काम सुरु भइसकेको छ ।
“क्षेत्र नम्बर १ को फाइल आइतबारसम्म आइपुग्नेछ,” उनले भने, “मंसिर २९ गते राति १२ बजेसम्म सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”
केन्द्रीय परिपत्र अनुसार नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवेदन फाराम वडास्तरसम्म पुगेको र तोकिएको समयमै सम्पूर्ण प्रक्रिया पूरा हुने शर्माले बताए ।
नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले समसामयिक राजनीतिक परिस्थिती र त्यसमा कांग्रेसको भूमिकाबारे आ–आफ्ना धारणा राखेका थिए ।

