बागलुङ।
आठौँ बागलुङ महोत्सवको अवसरमा हेलिकप्टरमार्फत जिल्लाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको दृश्यावलोकन गराइने भएको छ। यही पौष ११ गतेदेखि सुरु हुने महोत्सवमा पञ्चकोट, भकुण्डे, भैरवस्थान, पर्वतको कुश्मा लगायतका क्षेत्रसम्म हेलि टुरको व्यवस्था गरिएको हो।
गण्डकी प्रदेशअन्तर्गत विशेषगरी धौलागिरी क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र धार्मिक सम्पदाको प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले हेलिकप्टरमार्फत दृश्यावलोकनको व्यवस्था गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार आफ्ना अभिभावक माता–पितालाई हवाई यात्राको अनुभव गराउन चाहने वा विशेष धार्मिक स्थलमा लैजान चाहनेहरूका लागि यो अवसर उपयुक्त हुनेछ।
बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पौष ११ गतेदेखि बाङ्गेचौर खेल मैदानमा महोत्सव सञ्चालन हुँदैछ। व्यापार, कृषि, उद्योग र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष महोत्सव आयोजना गरिँदै आएको सङ्घले जनाएको छ।
महोत्सवलाई थप आकर्षक बनाउन हेलिकप्टरमार्फत महोत्सव स्थल तथा जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको दृश्यावलोकनलाई मुख्य आकर्षणका रूपमा समावेश गरिएको सङ्घका प्रेस सल्लाहकार सुवास आचार्यले बताउनुभयो।
हेलि टुरका लागि न्यूनतम ७ मिनेटको प्रतिव्यक्ति शुल्क ९ हजार रुपैयाँ र अधिकतम १२ मिनेटको १५ हजार रुपैयाँ तोकिएको व्यवसायी अनोद श्रेष्ठले जानकारी दिनुभयो। साथै, म्याग्दीको नर्थ एभरेस्ट बेस क्याम्प (नर्थ एबीसी) क्षेत्रको दृश्यावलोकन गर्न चाहनेका लागि प्रतिव्यक्ति ३० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको हेली संयोजक खगेश्वर पौडेलले बताउनुभयो।
हेलिकप्टर सेवाका लागि टिकट बुकिङ खुला गरिएको र इच्छुकले ९८५७६२१५८३ नम्बरमा सम्पर्क गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

