नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ आयोजना हुने भएको छ। शाखाको रजत वर्षका अवसरमा जिल्लामै पहिलोपटक मिडिया मेला गर्न लागिएको हो।
दुई दिनसम्म चल्ने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), कि–नोट स्पिच, बागलुङ जन्मथलो भएका पत्रकारहरूको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री तथा उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनसम्बन्धी बहस, ‘लाइभ पेन्टिङ’ लगायतका कार्यक्रम समावेश गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिए। मेलाकै अवसरमा शाखाले रजत वर्षमा प्रकाशन गर्न लागेको पत्रकारिता सम्बन्धी पुस्तकको विमोचन तथा रजत स्मारकको अनावरण पनि गरिनेछ। मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अग्रज तथा जिल्लामा क्रियाशील पत्रकारहरू एकै स्थानमा जमघट हुने सचिव रिजालले बताए। “वर्ष २०८२ लाई पत्रकार महासङ्घ बागलुङले रजत वर्षका रूपमा मनाइरहेको छ,” उनले भने, “स्थापनाकालको इतिहासप्रति गौरव गर्दै यस वर्षलाई स्मरणीय बनाउने हाम्रो प्रयास हो।” मेलाका अवसरमा छोटो दूरीका पर्यटकीय स्थलको अवलोकन, बागलुङमा प्रचलित सांस्कृतिक झाँकी तथा नृत्यको प्रस्तुति पनि रहने जनाइएको छ। यसअघि शाखाले गत असार २५ गते दुईदिने कार्यक्रमसहित रजत जयन्ती मनाउँदै रजत वर्षको औपचारिक शुभारम्भ गरेको थियो। सो अवसरमा पत्रकारहरूका लागि ध्यान शिविर, अन्तरशाखा आमन्त्रित फुटसल प्रतियोगिता, पूर्वअध्यक्ष सम्मान, पुरस्कार समर्पणलगायत विविध रचनात्मक कार्यक्रम गरिएको थियो। शाखाले **२०८२ लाई ‘तालिम वर्ष’**समेत घोषणा गरी पत्रकारहरूको सीप र दक्षता अभिवृद्धिमा जोड दिँदै आएको छ। शाखाका उपाध्यक्ष एवं तालिम संयोजक सिर्जना पन्तका अनुसार ‘दिगो विकास र वातावरण’, ‘मोबाइल पत्रकारिता’लगायत विषयगत तालिम सम्पन्न भइसकेका छन्। स्थानीय तहहरूसँग सहकार्य गरी थप तालिम सञ्चालनको तयारी भइरहेको उनले बताइन्। शाखाका कोषाध्यक्ष **खेमराज गौतम ‘सुवास’**ले मिडिया मेलाको आर्थिक स्रोत व्यवस्थापन र व्यवस्थापकीय तयारीका काम अघि बढाइएको जानकारी दिए। शाखाका अध्यक्ष राम थापाले मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ,अनुसन्धानकर्ता, सम्पादक, सञ्चारसम्बन्धी सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, मिडिया सञ्चालक, पत्रकार महासङ्घका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने बताए। स्थानीय जनप्रतिनिधि र पर्यटन क्षेत्रका विज्ञ तथा अगुवाहरू पनि बहसमा सहभागी हुने उनले उल्लेख गरे। “यो कार्यक्रम पत्रकारहरूसँग मात्र सीमित छैन, समग्र बागलुङ जिल्लाको पहिचान र गौरवसँग जोडिएको विषय हो,” अध्यक्ष थापाले भने, “स्थानीय विकास र पर्यटनका मुद्दामा हुने बहसले जिल्लाभित्रका अवसर र सम्भावनाहरू पहिचान गर्न मद्दत पुग्नेछ।”

