नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र बनाइएको छ। महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक कांग्रेसका झण्डाले सिँगारिएका छन्।
यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशनका लागि भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायत प्राविधिक तयारी अगाडि बढाइएको आयोजक समितिले जनाएको छ।
स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। “भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरु भइसकेको छ,” उनले बताए। आयोजक समितिका अनुसार विशेष महाधिवेशनमार्फत पार्टीको सन्देश कार्यकर्ता तथा आम नागरिकसम्म पु¥याउने अपेक्षा गरिएको छ। यसैबीच, महाधिवेशनमा सहभागिताका लागि देशभरका विभिन्न जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ। जनपरिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सहभागिता रहने जानकारी दिए। कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

