घुम्टे युवा परिवार जापानले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वर्गीय श्याम खत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाले स्व. खत्रीकी धर्मपत्नी श्रीमती लक्ष्मी भण्डारी खत्रीको नाममा रु. ८ लाख ५५ हजार ८ सय ७८ रुपैयाँ बराबरको चेकमार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम वि.सं. २०८२ साल माघ ४ गते एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको जनाइएको छ। घुम्टे युवा परिवार जापानले स्व. श्याम खत्रीको परिवारलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट आर्थिक संकलन गरेको थियो। संकलित रकम दुःखको घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि मातृभूमि र समाजप्रति देखाइएको यो जिम्मेवार र मानवीय भावनाको उच्च प्रशंसा गर्दै घुम्टे युवा परिवार जापानप्रति आभार व्यक्त गरेका थिए। यस्ता सहयोगात्मक र सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने उनीहरूको विश्वास रहेको थियो। घुम्टे युवा परिवार जापानले आगामी दिनहरूमा पनि सामाजिक तथा मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
बाबुराम केसीको पहल र घुम्टे युवा परिवार जापानका प्रतिनिधि प्रकाश केसीको नेतृत्वमा आर्थिक रकम सङ्कलन गरिएको थियो

