आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बागलुङका दुवै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ। काँग्रेस बागलुङका सचिव हरिहर शर्माका अनुसार बागलुङ क्षेत्र नं. १ मा भिम श्रीष र क्षेत्र नं. २ मा टेकराज पौडेललाई उम्मेदवार बनाइएको हो। बागलुङ क्षेत्र नं. १ का उम्मेदवार भिम श्रीषले २०५७ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनी त्यसबेला स्ववियु सदस्य बनेका थिए। २०६० सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु उपसभापति बनेका श्रीष २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। काँग्रेसको १२ औँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएका श्रीष हाल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन्। यस पटक काँग्रेसले उनलाई उम्मेदवार बनाएसँगै बागलुङ १ मा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
त्यसैगरी बागलुङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका टेकराज पौडेल नेपाल विद्यार्थी संघको सहमहामन्त्री हुँदै काँग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको मूल राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी पनि हाल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। श्रीष र पौडेलको उम्मेदवारी टुंगिएसँगै बागलुङका सबै राजनीतिक दलहरूले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन्। बागलुङ क्षेत्र नं. १ मा नेकपा एमालेबाट हिराबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीबाट कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट कृष्ण अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुशिल खड्का र उज्यालो नेपाली पार्टीबाट राजेन्द्र शर्मा उम्मेदवार बनेका छन्। उज्यालो नेपाली पार्टीका उम्मेदवार शर्मा रास्वपाबाट टिकट नपाएपछि उक्त पार्टीमा गएका हुन्। त्यसैगरी बागलुङ क्षेत्र नं. २ मा नेकपा एमालेबाट मञ्जुशर्मा चालिसे, नेपाल कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे ‘अनिल’ र रास्वपाबाट सोम शर्मा उम्मेदवार रहेका छन्।

