राजेन्द्र क्षेष्ठ
गलकोट माध्यमिक विद्यालयमा कक्षा ८ का विद्यार्थी र अभिभावकबीच नगरस्तरीय परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा करिब २० जना अभिभावकहरूले विद्यार्थीको पठन–पाठन अवस्था, सिकाइका चुनौती र परीक्षामा सुधारका उपायबारे आफ्ना विचार, सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए। कार्यक्रममा विषयगत शिक्षकहरूले कक्षा ८ का विद्यार्थीहरूको शैक्षिक अवस्था, उपस्थिती, अनुशासन तथा अध्ययन प्रगतिबारे धारणा राखेका थिए।
कार्यक्रममा गलकोट माविका मावि इन्चार्ज बलबहादुर घर्ती र सहायक प्रधानाध्यापक रामबहादुर खत्रीले पनि आ–आफ्ना मन्तव्य राख्दै विद्यार्थीको सिकाइ सुधारमा शिक्षक, अभिभावक र विद्यालय प्रशासनबीचको सहकार्य आवश्यक रहेको बताए।
गलकोट माविका निमित्त प्रधानाध्यापक नवराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले शिक्षकले मात्र चाहेर विद्यार्थीको नतिजा सुधार सम्भव नहुने उल्लेख गर्दै विद्यार्थीहरूले पढाइमा विशेष ध्यान दिनुपर्ने र अभिभावकहरूले पनि सन्तानको पठन–पाठनप्रति निरन्तर चासो राख्नुपर्ने बताए। उनले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वयबाट कक्षा ८ को नगरस्तरीय परीक्षामा बढीभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सबै लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रम गलकोट मावि शिक्षक–अभिभावक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको अवधारणाबारे गलकोट मावि निमावि इन्चार्ज सोमलाल सापकोटाले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन पुरन श्रीसले गरेका थिए।

