थम्मन थापा(सन्देश)
चुनाव नजिकिँदै जाँदा नेकपा एमालेले निर्वाचन लक्षित कार्यक्रमहरू तीव्र पारेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट पार्टीका प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई अत्यधिक मतसहित विजयी गराउने उद्देश्यले गलकोट नगरपालिका वडा नं. ३ मा निर्वाचन परिचालन समिति गठन गरिएको छ।
मंगलबार बसेको पार्टी वडा कमिटीको बैठक तथा अन्तरक्रिया कार्यक्रममा वडा कमिटी अध्यक्ष हर्क पन्तको संयोजकत्वमा ८१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो। कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीस, गलकोट नगर कमिटी उपाध्यक्ष ईश्वर बोहोरा क्षेत्री तथा नगर सचिव दान श्रीसले मन्तव्य राख्दै आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन देश बनाउने र जलाउनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्दै मुलुकको समृद्धि, विकास, राष्ट्र, राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि एमालेको विकल्प नरहेको दाबी गर्नुभयो। साथै पार्टी भित्रका सानातिना विषयमा नअल्झी उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिइएको थियो।
कार्यक्रमको सञ्चालन सन्त पन्तले गर्नुभएको थियो भने अध्यक्षता वडा कमिटी अध्यक्ष हर्क पन्तले गर्नुभएको थियो।

