बागलुङ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा चुनावी सभा सम्पन्न गरेको छ ।
सभालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार टेकराज पौडेलले लोकतन्त्र, विकास र सुशासन कांग्रेसको प्रमुख एजेन्डा भएको बताउनुभयो । उहाँले जनताको अधिकार संरक्षण गर्दै समग्र विकासमा कांग्रेस सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । साथै शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमकै अवसरमा ओमप्रसाद श्रीसको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ भने वडास्तरीय सम्पर्क कार्यालयसमेत स्थापना गरिएको छ ।
सभामा महाधिवेशन प्रतिनिधि भरत शर्मा गैरे, समानुपातिक उम्मेदवार रेनुका काउचा, जिल्ला सभापति जित शेरचन, प्रदेश सांसद दोर्ण कुँवर, दिलमाया पौवीलगायत नेताहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस वडा नम्बर ११ का सभापति ओमप्रसाद श्रीसको अध्यक्षता, रामप्रसाद पुनको स्वागत मन्तव्य तथा दामोदर शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै, उम्मेदवार पौडेलको समर्थनमा वडा नम्बर ११ रिघा र वडा नम्बर ३ हटियाका विभिन्न स्थानमा घरदैलो अभियानसमेत सञ्चालन गरिएको छ । घरदैलोका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कांग्रेसका एजेन्डा र भावी योजनाबारे जानकारी गराइएको आयोजकले जनाएको छ ।
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०७: ०८ बिहान

