दमौली । आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालय, व्यास–१ विज्ञानचौर, दमौलीको संयुक्त आयोजनामा सम्पन्न तेस्रो अन्तरविद्यालय मिनी म्याराथन दौड प्रतियोगिताको उपाधि छात्रतर्फ कमल बिकले जितेका छन्।
आज बिहान क्याम्पस परिसरबाट सुरु भई व्यास–१४ स्थित धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही मन्दिर परिसरमा पुगेर सम्पन्न ६.२ किलोमिटर लामो दौडमा महेन्द्रज्योति माध्यमिक विद्यालय, शिशाघाट व्यास–६, तनहुँका विद्यार्थी बिकले २१ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे।
प्रतियोगितामा बाग्लुङका बिमल नेपालीले २२ मिनेट ३६ सेकेन्डमा दूरी पार गरी दोस्रो तथा पर्वतका निश्चल रानाले २२ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे।
छात्रातर्फ पञ्चमुनी माध्यमिक विद्यालय, तनहुँकी मनकुमारी लामा प्रथम भइन् भने लक्ष्मी आधारभूत विद्यालय, पर्वतकी सिम्रन थापा दोस्रो र जनजागृति माध्यमिक विद्यालय, हरिनास–४, स्याङ्जाकी विमला माया मानन्धर तेस्रो भइन्।
विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई छात्र र छात्रा दुवै समूहमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लाका ३७ विद्यालयका ३७५ जना प्रतियोगी र ४८ जना अप्रतियोगीसहित कुल ४१२ जना विद्यार्थी धावकको सहभागिता रहेको थियो।
क्याम्पस परिसरमा आयोजित उद्घाटन समारोहमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रिबन काटेर प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले स्वास्थ्य, पर्यटन र धार्मिक आस्थालाई एकैसाथ जोड्ने भूमिका खेलेको उल्लेख गरे। उनले ‘शिक्षादेखि आस्थासम्म’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रयास प्रशंसनीय रहेको बताए।
छाब्दी बाराही मन्दिर परिसरमा सम्पन्न पुरस्कार वितरण तथा समापन समारोहमा वडा नं. १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले मिनी म्याराथनको मुख्य उद्देश्य छाब्दी बाराही मन्दिरको प्रचार–प्रसार तथा धार्मिक पर्यटन प्रवर्द्धन रहेको बताए।
समापन समारोहमा जनप्रतिनिधि, क्याम्पस सञ्चालक समिति, प्राध्यापक, शिक्षक, विद्यार्थी संगठनका प्रतिनिधि तथा स्थानीय संघसंस्थाको उल्लेख्य उपस्थिति रहेको थियो। खेलकुदमार्फत विद्यार्थीमा स्वास्थ्य, अनुशासन र सकारात्मक सोच विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए।

