नेपाल विद्युत प्राधिकरणले तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइनको परीक्षण कार्य आइतबारदेखि सुरु गरेको छ।
प्राधिकरणका अनुसार परीक्षण प्रक्रिया सम्पन्न भएपछि विद्युत सेवा नियमित रूपमा सुचारु हुनेछ। तम्घास–९ उनाएचौर सवस्टेशनदेखि बागलुङको बुर्तिबाङ सवस्टेशनसम्म १३२ हजार भोल्ट विद्युत प्रवाह गरिनेछ।
यो आयोजना कपिलवस्तुको मोतिपुरस्थित सवस्टेशनबाट सुरु भई अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बागलुङको बुर्तिबाङसम्म पुगेको छ।
प्रसारण लाइन सञ्चालनमा आएपछि गुल्मी, बागलुङ तथा आसपासका जिल्लामा विद्युत आपूर्ति थप भरपर्दो र सुदृढ हुने अपेक्षा गरिएको छ।
उच्च भोल्टेज प्रसारण लाइन भएकाले सर्वसाधारणलाई टावर वरपर नजान, नछुन, नचढ्न तथा संरचनाबाट सुरक्षित दूरी कायम गर्न प्राधिकरणले अनुरोध गरेको छ।

