गलकोट नगरपालिका वडा नम्वर १० पाण्डवखानी सुनपानीस्थित शिवालय मन्दिरको पुनःनिर्माण सम्पन्न गरी आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै समाजसेवी मानसिंह छन्त्यालले धार्मिक सम्पदाको संरक्षणले समाजमा एकता, सद्भाव र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मन्दिर हाम्रो आस्थाको धरोहर भएको बताउँदै यसको संरक्षण र विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।
सुनपानी टोल विकास संस्थाका संयोजक तथा मन्दिर व्यवस्थापन समितिका संयोजक गंगबहादुर घर्ती पुनले मन्दिर निर्माणका लागि देश तथा विदेशबाट २० लाख ३ हजार ३ सय ५५ रुपैयाँ सहयोग संकलन भएकोमा १८ लाख ३० हजार ५ सय ५० रुपैयाँ खर्च भई बाँकी रकम व्यवस्थापन समितिको कोषमा सुरक्षित राखिएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा मन्दिर निर्माण कार्यमा गाउँमै बसेर सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रगतिशील आमा समूह सुनपानीले संयोजक गंगाबहादुर घर्ती पुन, कालिका स्पोर्ट युथ क्लबका अध्यक्ष दिप घर्ती तथा पत्रकार सुरेश छन्त्याललाई सम्मान गरिएको थियो ।
भने, सहयोगदाताहरूलाई समेत सम्मान गरिएको थियो ।
मन्दिर उद्घाटनसँगै पूजा–आराधना गरिएको थियो भने सहभागी भक्तजनलाई प्रसाद वितरण र रुद्राक्ष मालाद्वारा सम्मान गरिएको थियो । शिवरात्रिका दिन निर्माण कार्य सम्पन्न हुन नसकेपछि आज शुभ तिथि परेको अवसरमा उद्घाटन तथा पूजा एकैसाथ गरिएको आयोजकले जनाएको छ । धर्मशास्त्रअनुसार आज रातभर जागाराम बसी भोलि बिहान विधिवत रूपमा सेलाउने परम्परा रहेको छ । कार्यक्रम सुनपानी टोल विकास संस्थाका संयोजक तथा मन्दिर व्यवस्थापन समितिका संयोजक गंगबहादुर घर्ती पुनको अध्यक्षता, गिरिमाया काउचाको स्वागत र दिप घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

