राजेन्द्र श्रेष्ठ
गलकोट समाज जापानको सहयोगमा गलकोट माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गलकोट समाज जापानका महासचिव दिलिप कँडेलले संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो। उहाँले गलकोट मात्र नभई देशका विभिन्न स्थानमा समस्या पर्दा सहयोग गर्दै आएको उल्लेख गर्दै यस वर्ष गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका १९ वटा विद्यालयलाई करिब ९५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि तथा गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेतले गलकोट समाज जापानले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि गलकोटको विकासका लागि सहयोग जारी रहने बताउनुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन गलकोट माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नवराज गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका प्राध्यापक देवेन्द्र खत्रीले राख्नुभएको थियो।

