गलकोट नगरपालिका–१० पाण्डबखानीमा श्रद्धाञ्जलि सभा कार्यक्रम सम्पन्न भएको छ। सुनपानी टोल सुधार समितिका टोल अध्यक्ष तथा भूतपूर्व सैनिक संघ गलकोट–१० का कोषाध्यक्ष हं. गंग बहादुर घर्ति पुनकी आमा भिमकुमारी घर्तिको २०८२ फागुन २३ गते ८२ वर्षको उमेरमा निधन भएको थियो। स्वर्गीय घर्तिको स्मृतिमा ५ औँ दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए। यस अवसरमा वडा कार्यालय, पाण्डबखानी मावि, नवज्योति आधारभूत विद्यालय, न्यु घुम्टे एकेडेमी, महिला जागरण समूह, नेपाली कांग्रेस, घुम्टे खबर, पाण्डबखानी स्वास्थ्य चौकी, कालिका स्पोर्ट्स युथ क्लब सुनपानी, आमा समूह, टोल सुधार समिति सुनपानी तथा सामुदायिक वन सुनपानी लगायतका संस्थाहरूले श्रद्धाञ्जलि पत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिका–१० पाण्डबखानीका वडा अध्यक्षले स्वर्गीय भिमकुमारी घर्तिको निधनले समाजले एक असल, सरल र समाजप्रेमी अभिभावक गुमाएको बताउनुभयो। उहाँले स्वर्गीय घर्तिले परिवारलाई मात्र नभई समाजलाई पनि मार्गदर्शन गर्ने व्यक्तित्वका रूपमा भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो। साथै दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो।
यसैबीच, स्वर्गीय भिमकुमारी घर्तिको सातौँ दिनको सुत्केरी (सुत्दो) कार्य २०८२ फागुन २९ गते हुने भएकाले सम्पूर्ण घोतारे, इष्टमित्र तथा चेलीबेटीहरूलाई उपस्थित भई पुण्य कार्यमा सहभागी हुन घरपरिवारले अनुरोध गरेको छ। कार्यक्रमको सञ्चालन घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका अध्यक्ष दीप घर्तिले गर्नुभएको थियो।

