गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च ले २६औँ बुद्ध जयन्ती, १८औँ वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला २०८२ लाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ।
मञ्चको बैठकले विविध खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, सती घाटु नाच, सोरठी, यानिमाया, सालैजो लगायतका लोकसंस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ। साथै घुम्टे सिद्धबाबाको दर्शनसहित राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति समेत रहने जनाइएको छ।
कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ। जसअन्तर्गत कार्यक्रम संयोजक, खेलकुद संयोजक, सांस्कृतिक संयोजक र आर्थिक संयोजक चयन गरिएको छ।
यसैबीच, मञ्चले चैत १४ गते पाण्डवखानीदेखि घुम्टे लेखसम्म सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। सोही दिन प्रत्येक टोल–टोलमा पनि सरसफाइ कार्यक्रम गर्ने सहमति गरिएको छ। क्लबका अध्यक्ष दीप घर्ती को अध्यक्षतामा सम्पन्न बैठकले मेलालाई सफल बनाउन सम्पूर्ण स्थानीयवासीको सहयोग आवश्यक रहेको बताएको छ।

