बागलुङमा मङ्गलबारदेखि ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गरेका थिए ।
कालिका भगवती मन्दिर परिसरमा रहेको कालिका कुञ्जमा आयोजित मेला पाँच दिनसम्म चल्नेछ । मेलाको उद्घाटनपछि बोल्दै संस्थानका अध्यक्ष पोखरेलले कालिका भगवती मन्दिरको ऐतिहासिक महत्व रहेको बताए । उनले मेलाले संस्कृति र परम्पराको जगेर्नामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, कालिका भगवती गुठी व्यवस्थापन समितिका सल्लाहकार मनकुमारी केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मेलाको उद्घाटन समारोह कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता एवं स्वागत र पत्रकारद्वय तारानाथ आचार्य र सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
मेलामा कालिका कप पुरुष तथा महिला भलिबल, छेलो प्रतियोगिता विभिन्न सांस्कृतिक तथा खेलकुद प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका कलाकाहरुले प्रस्तुति दिनेछन् ।

