गलकोट नगरपालिका–१० अन्तर्गत सुनापानी र सिद्धथानदेखि घुम्टे लेकसम्म सरसफाइ अभियान सञ्चालन गरिएको छ। पाण्डवखानीमा रहेको सामाजिक संस्था घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २६ औँ बुद्ध जयन्ती, १८ औँ वार्षिकोत्सव तथा वैशाखे पूर्णिमा मेला–२०८२ लाई भव्य रूपमा सम्पन्न गर्ने तयारीस्वरूप सरसफाइ कार्यक्रम आयोजना गरेको हो। क्लबका अध्यक्ष दिप घर्तिको नेतृत्वमा सम्पन्न उक्त अभियानले घुम्टे लेकमा पूजा गर्न जाने हजारौँ भक्तजनलाई सहज, सुरक्षित र सफा वातावरण उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।
संस्थाले प्रत्येक वर्ष वैशाखे पूर्णिमाको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, सती घाटु नाच, सोरठी, यानिमाया, सालैजो लगायतका लोक सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ। त्यसैगरी, घुम्टे सिद्धबाबाको दर्शनसँगै राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहनेछ। कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न कार्यक्रम संयोजकहरू समेत चयन गरिसकिएको जनाइएको छ। मेलालाई सभ्य र भव्य रूपमा सफल बनाउन सम्पूर्ण स्थानीयवासी, सरोकारवाला निकाय तथा दर्शकहरूको सहयोग आवश्यक रहेको संस्थाले आग्रह गरेको छ।

