रजत वर्षको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गर्न लागेको मिडिया मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी चैत २० र २१ गते सञ्चालन हुने मेलामा पत्रकारिताको विकासक्रम—गिद्वे प्रेसदेखि डिजिटल मिडियासम्म—बारे व्यापक छलफल हुने जनाइएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले उद्घाटन गर्ने मेलाको पहिलो दिन ‘पत्रकारिता: गिद्वे प्रेसदेखि एआइसम्म’ विषयमा प्यानल छलफल हुनेछ। उक्त सत्रमा राससका पूर्व प्रधान सम्पादक एवं आमसञ्चार तथा पत्रकारिताका वरिष्ठ प्राध्यापक एकराज पाठक, लोकान्तरका सम्पादक विमल गौतम तथा टेकपानाका सम्पादक गोपाल साउद सहभागी रहनेछन्।
सोही दिन नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछाने तथा बागलुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुशिल खड्का को सहभागितामा ‘बागलुङको भविष्य’ विषयमा बहस हुनेछ। कृषि, उद्यम र पर्यटनमा केन्द्रित रहने उक्त छलफलबारे शाखा अध्यक्ष राम थापा अविरल ले जानकारी दिएका छन्।
दोस्रो दिन ‘अन्यौल कि अनुभूति: कहाँ छ स्थानीय सरकार?’ विषयक छलफलमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, स्थानीय तह विज्ञ विजयराज पन्त तथा फोटो पत्रकार आरके अदिप्त गिरी वक्ताका रूपमा रहनेछन्।
त्यसैगरी ‘मोफसलका मिडिया: सबल कि संकट?’ विषयमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी का अध्यक्ष रमेश पौडेल तथा ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम बीच प्यानल छलफल हुनेछ।
मेलामा ‘पत्रकारितामा शैली: शिष्ट कि आक्रामक’ र ‘पत्रकार महासंघ: अब कस्तो बनाउने?’ जस्ता विषयमा पनि बहस हुनेछ। यसमा धर्मेन्द्र झा, शुभशंकर कँडेल, अपिल त्रिपाठी लगायतका वक्ताहरू सहभागी हुनेछन्।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता: अधिकार कि जिम्मेवारी?’ विषयमा रामप्रसाद दाहाल, प्रेस काउन्सिल नेपाल का सदस्य केशवशरण लामिछाने ले धारणा राख्नेछन् भने ‘मिडियामा सिमान्त आवाज’ विषयमा उजिर मगर, दलित अधिकारकर्मी कुञ्जनी परियार तथा पत्रकार दिपक सापकोटा ले चर्चा गर्नेछन्।
‘न्यु मिडिया: नाम पनि दाम पनि’ शीर्षकमा कन्टेन्ट क्रियटर वर्षा बस्नेत, सोलो ट्राभलर सिर्जना सिज्जु तथा डिजिटल रणनीतिकार चिराग थापा ले प्रवचन दिने कार्यक्रम छ।
‘जननी जन्मभूमिश्च’ सत्रमा अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, सामाजिक अभियन्ता जुनु पुन मगर तथा लोकगायक बसन्त थापा ले अनुभव सुनाउनेछन्।
करिब १७ लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त मेलामा फोटो प्रदर्शनी, पर्यटन प्रवर्द्धन, स्थानीय मिडिया सशक्तीकरण तथा राष्ट्रिय विषयमा चरणबद्ध छलफलहरू हुने आयोजकले जनाएको छ।

