पोखरा ।
खानेपानी, विद्युत तथा टेलिकमका तार भुमिगत गर्न भनेर पोखरा मुख्य चोकमा सडक खन्ने काम भइरहेको छ । विकास निर्माणका परियोजनाको काम समयमै सम्पन्न नहुँदा यातायात क्षेत्रमा प्रभाव पर्नुका साथै सर्वसाधरणलाई पनि समस्या परेको छ । महानगरका मुख्य बजार क्षेत्रका सडक भत्काएर क्षतविक्षत भएर अस्तव्यस्त छन् । सडक खनेर माटो, निर्माण सामग्रीले आवतजावतमा कठिनाइ हुँदा पोखरेली आक्रोशित भएका छन् ।
अमरसिंह-कुँडहर
अमरसिंह कुँडहरमा रहेको विद्युत अफिसदेखि पृथ्वीचोक सम्म विद्युत तार भूमिगत गर्ने कार्य चलिरहेको छ । अस्तव्यस्त निर्माण कार्यले सर्वसाधारण, व्यवसायी समस्यामा परेका छन् ।
शहरको स्तरोन्तिका लागि भत्काइएका सडक समयमै निर्माण नहुँदा धुलो र खाल्डाखल्डीले दिक्दार बनाएको रमेश शिल्पकारले सुनाए । १३ वर्षदेखि अमरसिंहमा पार्वती साइकल पसल चलाइरहेका तार भुमिगत गर्न खनिएको सडकको माटो पसल अगाडी थुपारि दिँदा पसल ३ दिन सम्म बन्द गर्नुपरेको उनले सुनाए ।
‘धुलोले गर्दा, बाटो खन्दा भएका खाल्डाखल्डीले बाटो अप्ठेरो भएर ग्राहक पसलमा आउनै छोडें, २५ प्रतिशल व्यापार घट्यो,’ शिल्पकारले गुनासो पोखे, ‘खानेपानीको पाइप पुर्दा खनेपछि यसै छोड्दिएर आफैं खर्च गरेर ढलान गरियो बिजुलीको तार भूमिगत गरेर सकियो अब नेपाल टेलिकमको तार भूमिगत गर्ने तयारीमा छ । ८/९ महिना लाग्छ रे यत्रो समय बाटो मर्मत भएन भने त व्यापार नभएर पसलै नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।’
तुलसीघाट
तुलसीघाटमा सडक फराकिलो बनाउने भन्दै सडकका संरचना भत्काएर महिनौंदेखि काम अलपत्र छाडिएको छ । समयमै निर्माण काम नहुँदा छोटो र सहज रुपमा रहेको भित्री सडक नै बन्द भएपछि निकै सास्ती खेप्नु परेको तुलसीघाटकी निसा गुरुङले बताइन् । सडक क्षेत्रका संरचना भत्काए पनि ‘२ वर्षको ठेक्का हो रे भन्ने सुनेको, काम सकिन कति वर्ष लाग्ने हो ? बाटो खनेपछि काम भएको छैन,’ उनले भनिन्, यताको बाटो बन्द भएपछि महेन्द्रपुलमा जाम पर्ने समस्या आएको छ, जसले सिंगो पोखरालाई नै असर परिरहेको छ त्यसैले निर्माणको काम छिटो भन्दा छिटो सक्नुपर्छ ।’
बाटोको दुराअवस्थाका साथै धुलाले सास फेर्न पनि गाह्रो भएको उनको भनाइ छ । भ्रष्टाचार, सम्बन्धित निकायबीचको समन्वय अभावका कारण विकास निर्माणको काममा ढिलाइ हुने गरेको गुरुङको ठम्याईं छ ।
सृजना चोक
सृजना चोकमा मात्रै तीन ठाउँमा खाडल खनिएको छ । खानेपानीको पाइप भूमिगत गर्नको लागि सडक भत्काइएकाले एउटा सडकबाट हिँडेको सवारीसाधन अर्को सडकमा पुग्नै गाह्रो छ ।
सृजना चोकमा रहेको पोखरा समयबजी हाउस एन्ड मिक्सअप बारका विकास शर्माले यातायात क्षेत्रलाई अस्तव्यस्त बनाएर पानीको (चेम्पर)को चापी बनाउने काम भइरहेकोमा आक्रोश पोखे ।
‘खानेपानीको (चेम्पर)को चापी बिच सडकमा राख्नु उचित हो जस्तो लाग्दैन । यो त खुला चौरमा पनि राख्न सकिन्थ्यो होला नी,’ उनी भन्छन्, सडक खनेर माटो, निर्माण सामग्री यत्रतत्र छरिएको छ, सडकमा हिड्न समस्या छन् लापरबाहीको पनि सिमा हुन्छ ।’
पृथ्वीचोक
पृथ्वीचोकमा बाटो ढलान भइरहेको छ । ढलानको समयमा सवारी साधन आवतजावतमा समस्या त थियो नै ढलान पछि पनि १८÷२० दिनसम्म सवारी साधन हिड्न नमिल्ने एक स्थानीयले बताए ।
‘सडक सुधार त हुने भयो तर निमार्ण कार्य नसकिदा सम्म सास्ती पनि निकै हुने भयो,’ उनले भने पृथ्वीचोक सबैभन्दा बिजी क्षेत्र हो यहाँ सडक स्तरोन्ति गर्दा विशेष ध्यान पुर्याउनु पर्ने थियो तर न गुणस्तरिय सामानको प्रयोग भए जस्तो छ समयमै काम भएको छ ।
चाइनापुलदेखि पृथ्वीचोक खण्ड खण्ड गरी ढलान भइरहेको उनले जानकारी दिए ।