पोखरा ।
पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै नदिने ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनीहरुले पोखरा महानगरपालिका १६ लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत् धम्क्याएको आरोप छ । उनीहरुले हिन्दी भाषामा गैरेसँग फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्याल्य कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
गैरे पोखरा १६ दीपमा रहेको सच्चाई सेवा केन्द्रका अध्यक्ष हुन् । ‘गैरेलाई थर्काएर फोन तथा एसएमएसमार्फत ५ करोड रुपैयाँ फिरौती मागेको देखिन्छ । फिरौती नदिएमा निजको परिवार र निजलाई पनि ज्यान मार्ने धम्की दिइएको छ,’ थापाले भने । उनीहरुले माघ ११ गते पहिलो पटक हिन्दी भाषामा धम्कीपूर्ण म्यासेज पठाएका थिए । म्यासेजमा आइतबारसम्म ५ करोड रुपैयाँ व्यवस्था गर्न भन्दै उक्त पैसा दिने ठाउँ र समय आफूहरुले तोक्ने जनाएका थिए ।
पक्राउ परेका दर्जी र क्षेत्रीबाट प्रहरीले ८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायी लगायतको डिटेल बरामद गरेको छ । ती भेटिएका नामका व्यक्तिहरुसँग पनि उनीहरुले त्यस्तै गतिविधि गर्ने योजना बनाएको हुन सक्ने प्रहरीको आकलन छ ।
उनीहरुले विभिन्न ‘कोड’ भाषा प्रयोगबारे पनि गरेका थिए । जस्तै ‘बिग मनी, बिग टार्गेट, किडन्याप, फिरौती, सुटआउट, प्रोटेक्सन मनी, रिचकिड्स’ लगायतका शब्द प्रयोग गरिएको गरेका थिए । दुवै जनालाई लागुऔषध, हातहतियार तथा खरखजाना र आपराधिक लाभ गरी ३ वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।