बागलुङमा ह्युमन इम्युनोडेफिसेन्सी भाइरस (एच.आई.भी) संक्रमित हुनेको संख्या १९० पुगेको छ ।
धौलागिरी पोजेटिभ समुहका अनुसार बागलुङमा एच.आइ.भीबाट संक्रमित हुनेको संख्या १९० पुगेको हो । बिहिबार भएको सरोकारवालाहरुसँगको छलफलमा धौलागिरी पोजेटिभ समुहका अध्यक्ष चन्द्र बहादुर खत्रीले एच.आई.भीबाट संक्रमित हुनेको संख्या बढेको बताए ।
उनले जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढि बागलुङ नगरपालिकामा ७६ जना संक्रमित रहेको बताए । जैमिनी नगरपालिकामा २८, काठेखोला गाउँपालिकामा २६, ताराखोला गाउँपालिकामा ७, गलकोट नगरपालिकामा २४, निसीखोला गाउँपालिकामा ११ संक्रमित रहेका छन् ।
बडिगाड गाउँपालिकामा ८, ढोरपाटन नगरपालिकामा ५, बरेङ गाउँपालिकामा २ र तमानखोला गाउँपालिकामा ३ जना रहेका छन् । २२ जना संक्रमित बालबालिका रहेको बताइएको छ ।
पछिल्लो समय जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढि बडिगाड जोखिममा रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले बताए ।
‘केही समय अघि गरेको परीक्षणमा बडिगाडका युवामा एच.आइ.भी संक्रमण देखिएको छ ।’ उनले भने–‘त्यहाँका धेरै मानिस भारतमा काम गर्न जाने र त्यहाँँबाट फर्किदा एच.आ.भी संक्रमित भएर फर्किने गरेकोले उच्च जोखिममा रहेको छ ।’
असुरक्षित यौन सम्पर्क, लागू औषधको प्रयोग, भारत लगायतका ठाउँमा हुने माइग्रेसन लगायतका कारण बागलुङमा एच.आइ.भी संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले एच.आई.भी रोकथाम र संक्रमितलाई सहयोग पुर्याउन स्थानीय तहले बजेटको व्यवस्था गर्नु पर्ने बताए ।
बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले संक्रमितको सामाजिक सुरक्षा र संक्रमण न्यूनिकरणको लागि कार्यक्रम सहित बजेटको व्यवस्था गरिने बताए ।
उनले पछिल्लो समय शारीरिक सम्बन्ध प्रति समाज उदार हुँदै गर्दा एच.आइ.भीको जोखिम पनि उच्च हुँदै गएकोले सबैले सचेतना अपनाउनु पर्ने बताए ।
एच.आई.भी भाइरसका कारण शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदा विभिन्न रोगले आक्रमण गरि मानिसको मृत्यु समेत हुने गर्दछ ।
बैठकमा सहजिकरण स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरेले गरेका थिए ।
बानपामा ७६, जैमिनीमा २८ र गलकोटमा २४ जना संक्रमित, उच्च जोखिममा बडिगाड