१३ साउन, पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपमार्फत दुई पांग्रे तथा चारपांग्रे सवारी साधनलाई यात्रु ओसार्न दिने कार्यविधि ल्याउने तयारी गरेपछि पोखरामा यातायात व्यवसायीहरू आक्रोशित भएका छन्। उनीहरूले गाडी थन्क्याएर सार्वजनिक यातायात ठप्प पार्दै आन्दोलन सुरु गरेका छन्।
आन्दोलनको क्रममा व्यवसायी तथा मजदुरहरूले मोटरसाइकल र स्कुटर चालकहरूलाई दुर्व्यवहार र हातपात गरेका छन्। पत्रकारहरूमाथि समेत हातपात गरिएको घटना सार्वजनिक भएको छ। साधारण मोटरसाइकल चालकहरूलाई कुटपिट गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पोखरा–९ शान्तिवनका ट्याक्सी चालक ४१ वर्षीय सूर्यबहादुर नेपाली, मजदुर ३३ वर्षीय बुद्धिबहादुर बयलकोटी, पोखरा–१६ का १६ वर्षीय प्रशान गुरुङ, र पोखरा जिरो किलोमिटर बस्ने २८ वर्षीय सन्तोष बस्नेत रहेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा भएको आन्दोलनका कारण यात्रुहरूले ठूलो सास्ती भोग्नु परेको छ। व्यवसायी तथा मजदुरहरूले पत्रकार विनु थापा, सुरज थापा लगायतमाथि हातपात गरेका हुन्।
नेपाल पत्रकार महासंघ कास्कीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले भीडमा घुसपेट भएर धेरैजनामाथि अभद्र व्यवहार भएको बताए।
उनले आफूहरूले शान्तिपूर्ण आन्दोलन गरेको भए पनि भीडलाई उत्तेजित बनाउने गरी घुसपेट भएको दाबी गरे।गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिक बनाउने प्रयास गरिरहेको बेला व्यवसायीहरूको यो आन्दोलनले सार्वजनिक यातायातमा अशान्ति सिर्जना गरेको छ। यस विषयमा तत्काल प्रभावकारी कदम उठाउनु आवश्यक देखिन्छ।