१५ साउन – भक्तपुरको सूर्यविनायक नगरपालिका-५, दधिकोटस्थित गडेधारा टोलमा भीषण बाढीका कारण करिब ३० घर डुबानमा परेका छन्। गएराति परेको भीषण वर्षाका कारण ढुंग्रेखोलामा आएको बाढीले बस्तीमा ठूलो क्षति पु-याएको हो।
बाढीका कारण घरभित्र चार फिटसम्म पानी पुगेपछि धेरै स्थानीयको रातभर बिचल्ली भएको थियो। स्थानीय अनिता पाण्डेका अनुसार, करिब ३० घरका सामानमा क्षति पुगेको छ। त्यस्तै, स्थानीय कला थापाले मध्यरातमा झ्यालको उचाइसम्म पानी पुग्दा सानो बच्चा च्यापेर कौशीमा जानु परेको बताइन्।बढ्दो बस्ती र साँघुरिएको खोला समस्याका मुख्य कारण भएको स्थानीयले बताएका छन्।
यस वर्षको वर्षाले पहिलेभन्दा बढी क्षति पु-याएको उनीहरूको भनाइ छ। कतिपयलाई खाने र सुत्ने सामानको समेत अभाव भएको छ।आज बिहान वडा कार्यालयका केही जनप्रतिनिधि र नेताहरूले निरीक्षण गरे पनि स्थानीय भने खोला करिडोर निर्माण नहुँदा समस्या आएको भन्दै आक्रोशित बनेका छन्। स्थानीयले वर्षौंदेखि खोलामा करिडोर बनाउन माग गर्दै आएका छन्। खोला सफा गर्ने र जमेको माटो हटाउने कुरा भए पनि तीन तहको सरकारले दीर्घकालीन समाधान अवलम्बन गर्नुपर्ने उनीहरूको माग छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निरीक्षक टेकेन्द्र पौडेलले खोला पर्खाल भत्किँदा र खाद्य कम्पनीमा क्षति पुगेको जानकारी दिएका छन्। प्रहरीले विभिन्न ठाउँमा क्षतिको विवरण संकलन गरिरहेको छ। साँझसम्ममा सबै विवरण प्राप्त हुने जनाइएको छ।