गुल्मी जिल्लामा पछिल्ला केही वर्षयता धान रोप्ने क्षेत्रफलमा कमी आएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको तथ्यांक अनुसार, यसवर्ष ७ हजार १८९ हेक्टर क्षेत्रमा धान रोपाइँ गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो।
जिल्लामा कुल ८ हजार ९५३ हेक्टर उब्जाउ योग्य जमिन रहेको भए पनि हरेक वर्ष रोपाइँ क्षेत्रफल घटिरहेको छ। वर्ष २०७७/०७८ मा ७ हजार ९२६ हेक्टर, २०७८/०७९ मा ७ हजार ८४४ हेक्टर र २०७९/०८० मा ७ हजार २१० हेक्टरमा मात्र धान रोपाइँ भएको थियो।
सिंचाइको सुविधा नहुँदा किसानहरू वर्षाको पानीमा निर्भर हुनुपरेको छ। त्यस्तै, जनशक्तिको विदेश पलायनले पनि खेतीयोग्य जमिन बाँझो हुँदै गएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए।
जिल्लाका किसानहरूले रामधान, खुमल ४, खुमल ६, हंसराज, र हाइब्रिड जातका धान खेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रले रैथाने धानको संरक्षणका लागि बीउ वितरण गरेको छ। हाल गुल्मीमा ३ हजार ६२६ हेक्टरमा सिंचाइको व्यवस्था छ भने ६ हजार ६९० हेक्टरमा आंशिक सिंचाइ सुविधा उपलब्ध छ।
धान खेती मुख्यतः कालीगण्डकी गाउँपालिका, मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने, धुर्कोट, इश्मा, र गुल्मीदरबार लगायतका स्थानमा गरिएको छ।