नुवाकोट – कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ।
नुवाकोट र धादिङको सीमाना भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारमा ठूलो क्षति पुर्याएको छ, जहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।
स्थानीय किसान आरबी नेपालका अनुसार, किसानले हालै रोपेको खेत पूर्णरूपमा बगर बनेको छ। उनले भने, “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ।
दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाइएको रोपो पनि पुरिएको छ।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उनले भने, “प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ।”