काठमाडौं, १६ साउन – संसदीय समितिले विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको छ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अन्जनी कुमार झाका अनुसार, यी संस्थाहरूले आयोगबाट आशयपत्र प्राप्त गरिसकेका छन्।सम्बन्धित संस्थाहरू प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी)मा सम्बन्धनको प्रक्रियामा छन्।
यी संस्थाहरूले नर्सिङ पढाउन अनुमति मागेका छन्, जबकि नर्सिङ इन्ट्रान्स परीक्षा यही साउन १९ गते हुने तय भएको छ। संस्थाहरूले परीक्षा अगावै सम्बन्धन प्राप्त गर्नुपर्ने माग गरेका छन्।यो विषयलाई लिएर बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले मापदण्ड पूरा गरेका संस्थाहरूलाई शीघ्र सम्बन्धन दिने निर्देश गरेको छ।
समितिको निर्णय अनुसार, “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को बैठक तत्काल राखी सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन २०७५ र सो सम्बन्धी नियमावली बमोजिम आवश्यक मापदण्ड, शर्त, र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई आयोग समक्ष पेश गरी सम्बन्धन स्वीकृति गर्न निर्देशन दिइएको छ।
यसै शैक्षिक सत्रभित्र भर्ना प्रक्रिया प्रारम्भ गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुपर्नेछ।” यस निर्देशनसँगै, सम्बन्धन प्राप्त गर्न प्रतीक्षारत कलेजहरूले आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने आशा राखेका छन्।

