गलकाेट नगरपालिका वडा नं. ११, रिघा अमर्छास्थित अमर्छा बाल विकास केन्द्रको पक्की भवन उद्घाटन समारोह आज सम्पन्न भएको छ। दरमखोला हाईड्रो इनर्जीको आर्थिक सहयोगमा पक्की भवन, शौचालय, र ट्रस्ट निर्माण गरिएको हो।

समारोह बाल विकास केन्द्र व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन दल बहादुर पुनको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि दरमखोला हाईड्रो इनर्जीका संचालक राम प्रसाद कंडेल रहेका थिए भने, वडा अध्यक्ष डम्बर बहादुर श्रीस, कार्यपालिका सदस्य तारा कुमारी सार्की, र वडा सचिव देव बहादुर विश्वकर्मा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन शिक्षक नारायण पौडेलले गरेका थिए।

मात्रृ विद्यालय किम्ले आ.वि.का प्रधानाध्यापक हिरा बहादुर श्रीसले स्वागत मन्तव्य दिएका थिए। बाल विकास केन्द्रका संस्थापक सुवेदार नरेन्द्र घर्तीले केन्द्रको इतिहास र वर्तमान अवस्थाको बारेमा जानकारी गराए। कार्यक्रममा जग्गादाता धनमाया श्रीसलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने, जेष्ठ नागरिकहरूलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

शुभकामना मन्तव्य दिन सहजकर्ता सावित्रा थापा, वडा सचिव देव बहादुर विश्वकर्मा, वडा अध्यक्ष डम्बर बहादुर श्रीस, र प्रमुख अतिथि राम प्रसाद कंडेलले बोल्नुभएको थियो। करिब २० लाख रुपैयाँको लागतमा सम्पन्न भवनको निर्माणमा आर्थिक सहयोग गर्ने दरमखोला हाईड्रो इनर्जीका सदस्य राम प्रसाद कंडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।।
