३२ साउन, काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ। थामे खोलामा आएको यस बाढीले गाउँलाई ठूलो क्षति पुर्याएको छ।
केही दिनदेखिको लगातारको वर्षाले बाढीको अवस्था बिग्रँदै गएको भए पनि यति ठूलो बाढीको अपेक्षा स्थानीयवासीले गरेका थिएनन्।स्थानीयबासीले माथिल्लो हिमताल फुटेको आशंका गरेका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख देवी पाण्डेका अनुसार बाढीको कारण हिमपहिरो वा हिमताल फुटेको यकिन भएको छैन, तर अनुसन्धान जारी छ।
थामे गाउँका वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाका अनुसार बाढीले गाउँका ४५ घरधुरीलाई डुबानमा पारेको छ। हालसम्म मानवीय क्षतिको जानकारी आएको छैन, तर गाउँका मानिसहरू त्रसित छन्। थामे गाउँ सोलुखुम्बुको सदरमुकामबाट ४ दिनको पैदल दूरीमा रहेको हुँदा तत्कालै राहत र उद्धार कार्य चुनौतीपूर्ण हुनेछ।