तनहुँको आबुखैरेनी स्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको बसका घाइतेहरूको उद्दारको लागि नेपाली सेनाले हेलिकप्टर पठाएको छ।
नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीका अनुसार, हेलिकप्टर र मेडिकल टिमसहितको टोली दुर्घटनास्थलमा पुगेको छ। गम्भीर घाइतेलाई काठमाडौंमा थप उपचारका लागि पठाइने छ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंको यात्रा गर्दै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस ऐना पहाराबाट नदीमा खसेको थियो। यस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइतेहरूको उद्धार गरिएको छ।
प्रहरीले जानकारी दिएको अनुसार, बसमा ४१ यात्रु र २ स्टाफ (चालक र सहचालक) गरी जम्मा ४३ जना सवार थिए। मृतक सबै भारतीय नागरिक रहेका छन्, जसले भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि यात्रा गरेका थिए।