नेपाललाई आश्चर्यचकित पार्दै बंगलादेशले ऐतिहासिक रुपमा साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ।
काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित फाइनल खेलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै आफ्नो पहिलो उपाधि उचाल्न सफल भयो।पहिलो हाफको इन्जुरी टाइममा बंगलादेशले मिराजुल इस्लामको उत्कृष्ट फ्रिकिक गोलमार्फत अग्रता लिएको थियो।

दोस्रो हाफमा नेपालले खेलमा फर्कने प्रयास गरिरहेको बेला, मिराजुलले ५५ औं मिनेटमा दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए। खेलको ७१ औं मिनेटमा रवि हुसेनले बंगलादेशको तेस्रो गोल गरे, जसले नेपालको सम्भावनालाई लगभग समाप्त गरिदियो।

नेपालका लागि समिर तामाङले ८१ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। तर, इन्जुरी टाइमको छैटौं मिनेटमा बंगलादेशका पीएस अहमद नोभाले गोल गर्दै बंगलादेशको जित पक्का गरे।नेपालले यसअघि दुई पटक उपाधि जितिसकेको भए पनि तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्य सफल हुन सकेन।
बंगलादेशको यो जितले साफ प्रतियोगितामा नेपालको वर्चस्वलाई चुनौती दिएको छ, जसले भविष्यमा नेपाली फुटबलका लागि थप चुनौतिहरू सिर्जना गर्नेछ।