ह्युस्टन शहरमा मुना पाण्डेको हत्या प्रकरणले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई स्तब्ध बनाएको छ। यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले बबि सिंह शाहलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।
अदालतले शाहको जमानत अस्वीकार गर्दै उनलाई हिरासतमा राख्ने निर्णय गरेको छ।हत्याको मुख्य प्रमाणका रूपमा प्रहरीले सीसीटीभी फुटेज प्रस्तुत गरेको छ। फुटेजमा शाहलाई शनिबार साँझ ८:४० बजे मुना पाण्डेको अपार्टमेन्टको ढोकामा पुगेको देखिन्छ।
उनलाई जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट, र पर्ससहित देखिएको छ। शाहले ढोकामा ठकठक गर्दै पाण्डेलाई ढोका खोल्न आग्रह गरेका थिए, र पाण्डेले “तिमी के गर्न लागेको?” भन्ने प्रश्न गरेको फुटेजको अडियोमा सुनिन्छ।जब पाण्डेले ढोका खोलेकी थिइन्, शाहले उनलाई जबरजस्ती भित्र धकेलेर ढोका बन्द गरेका थिए।
त्यसपछि एक घण्टापछि शाहलाई अपार्टमेन्टबाट बाहिर निस्कँदै गरेको देखिएको छ। उक्त समय वरिपरिका छिमेकीहरूले ठूलो आवाज सुनेको बयान दिएका छन्, जसले घटनाको गम्भीरता दर्शाउँछ। शाहलाई पाण्डेको कालो पर्स बोकेर निस्कँदै गरेको पनि फुटेजमा देखिएको छ।घटना पछि प्रहरीले सीसीटीभी फुटेजमा देखिएका संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गरी सूचना मागेको थियो, जसको आधारमा शाहलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो। अनुसन्धानका क्रममा पाण्डे नियमित रूपमा जाने एक रेस्टुरेन्टका सञ्चालकले शाहलाई चिन्ने कुरा बाहिर आएको छ। यसले पाण्डे र शाहबीच कुनै किसिमको सम्बन्ध रहेको हुनसक्ने आशंका गरिएको छ, तर घटनाको वास्तविक कारण भने अझैसम्म खुलेको छैन।
मुना पाण्डे अमेरिकामा २०२१ मा स्नातक तह अध्ययनका लागि गएकी थिइन् र नर्सिङ अध्ययनरत थिइन्। यो घटना उनका परिवार, साथीहरू, र सम्पूर्ण नेपाली समुदायका लागि ठूलो शोकको विषय बनेको छ।