पृथ्वीले एक नयाँ अस्थायी चन्द्रमा प्राप्त गर्ने छ, तर यो चन्द्रमा केवल छोटो समयको लागि मात्र रहनेछ। यो नयाँ चन्द्रमा कुनै साधारण खगोलीय पिण्ड होइन, एउटा फुच्चे क्षुद्रग्रह हो, जसलाई २०२४ पीटी ५ नाम दिइएको छ। यसले आगामी सेप्टेम्बर २९ देखि नोभेम्बर २५ सम्म पृथ्वीको परिक्रमा गर्नेछ, तर हालको चन्द्रमाझैं स्थायी रूपले रहने छैन।
यो क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण बलले तानिनेछ र चन्द्रमाले जस्तै पृथ्वीको कक्षमा २ महिनासम्म परिक्रमा गर्नेछ। त्यसपछि, यो पिण्ड सूर्यको कक्ष अर्थात् हेलियोसेन्ट्रिक अर्बिटमा प्रवेश गर्नेछ। २०२४ पीटी ५ को व्यास लगभग १६ देखि १३८ फिटको बीचमा हुने अनुमान गरिएको छ।
यसलाई पहिलो पटक अगष्ट ७ मा नासाको दक्षिण अफ्रिकास्थित वेद्यशालामा पत्ता लगाइएको थियो। शोधकर्ताहरूका अनुसार यो क्षुद्रग्रहको आकार सन् २०१३ मा रुसको चेलियाबिन्स्कमा प्रवेश गरेको क्षुद्रग्रहभन्दा ठूलो छ, जसको विस्फोटले विशाल ऊर्जा उत्पन्न गरेको थियो। तर, २०२४ पीटी ५ ले कुनै हानि पुर्याउने सम्भावना छैन। यसले पृथ्वीलाई २६ लाख माइलको दूरीबाट परिक्रमा गर्नेछ, जुन चन्द्रमाको दूरीभन्दा १० गुणा धेरै टाढा हुनेछ।
यो अस्थायी चन्द्रमाले पृथ्वीलाई हानी गर्ने खतरा नरहे पनि, यसको अध्ययनले खगोलविद्हरूलाई ग्रहणीय पिण्डहरूको बारेमा थप जानकारी दिने अपेक्षा गरिएको छ।