भारतीय महिला भलिबल खेलाडी जुही शाले गण्डकी थण्डर्सबाट एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युसीएल) मा सहभागी हुँदैछन्। गण्डकीले उनलाई चौथो विदेशी खेलाडीको रुपमा टिममा अनुबन्ध गरेको छ।
अनुभवी सेटर शाले यसअघि नेपालमा खेलिसकेकी छिन् र हालै मात्र काभा वुमन्स भलिबल नेसन्स लिगमा भारतलाई उपाधि जिताउन मुख्य भूमिका निभाएकी थिइन्।गण्डकीले यसअघि रसियाकी जुभियागिनसिभा, एलिसा रुबियक, र भारतकी शिल्पा सिन्धलाई पनि टिममा अनुबन्ध गरिसकेको छ।
गण्डकीका टिम मालिक सौरव केडियाले टिमलाई उपाधिको बलियो दावेदार भएको बताए। ट्यालेन्ट हन्टबाट थप खेलाडी चयन गर्दै गण्डकीले सेप्टेम्बर २५ मा पोखरामा तयारी अघि बढाउने छ।