*धनुषा, सोमवार राति जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर फरार भएका नौ जनामध्ये चार थुनुवा पक्राउ परेका छन्। भागेका थुनुवामध्ये सत्यम झालाई प्रहरीले जनकचोकबाट तत्कालै पक्राउ गरेको थियो भने थप तीन थुनुवालाई प्रहरी टोलीले विदेह नगरपालिकाको लखौरी धानखेतबाट समातेको हो।
पक्राउ परेका अभियुक्तहरूमा लागूऔषध मुद्दाका धनुषाका रोशन कुमार मण्डल, सिरहाका अभास्कर कुमार यादव, र अभद्र व्यवहार मुद्दाका जनकपुरधामका विक्की कार्की छन्।
अझै पाँच थुनुवा फरार रहेका छन्, जसमा लागूऔषध मुद्दाका अमितकुमार झा, रञ्जित मण्डल, र विशाल मुखिया साथै अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर र मनिष मण्डल छन्। फरार थुनुवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।