धनकुटा र पाँचथरमा निरन्तर वर्षासँगै आएको पहिरोले पाँच जनाको ज्यान लिएको छ भने चार जना अझै बेपत्ता भएका छन्। धनकुटाको पाख्रीबास र पाँचथरको फिदिममा पहिरोले घर पुरिँदा आमाछोरीसहित पाँच जनाको मृत्यु भएको छ।पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ। उनीहरू चिसापानीमा डेरा लिएर बस्दै आएका थिए। फिदिम नगरपालिका–१ साँगेबोटेमा पनि पहिरोले एक घर पुरिँदा ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ भने कृष्ण दास, कमला दास, धनकुमार तुम्बापो र सरस्वता तुम्बापो बेपत्ता भएका छन्।
यसै पहिरोमा दुई जना व्यक्ति घाइते भएका छन्। त्यसैगरी, धनकुटाको पाख्रीबास नगरपालिका–५ मा पनि पहिरोले घर पुरिँदा ५० वर्षीया रामकुमारी तामाङ र उनकी छोरी ३२ वर्षीया आशा तामाङको मृत्यु भएको छ। प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ।