मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिक फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा परेर बेपत्ता भएका छन्।
बत्सलादेवी माविमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित फुटबल एकेडेमीका ४० प्रशिक्षार्थीमध्ये ६ बालकलाई सुरक्षित स्थानतर्फ लैजाँदा उनीहरू बाढी र पहिरोमा परेका हुन्। कुलेखानी जलासयको बाँध खोलिएपछि आएको बाढीका कारण उक्त घटना भएको हो।
विद्यालयका अध्यक्ष सुभाषचन्द्र ठकुरीका अनुसार, बाँध खोलिएपछि बालकहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा माथिबाट आएको लेदो र पहिरोले ६ बालकलाई बगाएको हो। बाँकी ३४ जना बालक भने सुरक्षित रहेका छन्।
घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन भने खोजी कार्यमा चुनौती भएको मकवानपुरका एसपी सीताराम रिजालले बताएका छन्।