विराटनगर महानगरपालिका–१८ मा बिहीबार बेलुका ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएपछि शुक्रबार स्थानीयले विराटनगर भन्सार कार्यालयमा प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन्। विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले ६० वर्षीय श्याम साहलाई ठक्कर दिँदा उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो।
दुर्घटनापछि आक्रोशित भिडले ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै प्रदर्शन गरेका थिए। घटनास्थलमा स्थानीयको विरोध बढ्दै जाँदा, स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार, ढुंगामुढाबाट भन्सार कार्यालयको गेट र भवनमा सामान्य क्षति पुगेको छ। शव बुझ्न अस्वीकार गर्दै मृतकका आफन्तहरूले ट्रक चालकको लापरबाहीलाई दोष दिएका छन्।