देशको राजनीतिमा लामो योगदान पुर्याउँदै आउनुभएका नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको आज बिहान दुखद निधन भएको छ।
उहाँको निधन बिहान ८ बजे, भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा भएको पुष्टि भएको छ।
राजनीतिक यात्रामा अनेकौं जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङ, २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुख पदमा नियुक्त हुनुभएको थियो।
उहाँ नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुनुहुन्थ्यो।
राजनीतिक विभाजनको समयमा गुरुङले प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापतिको भूमिका पनि निर्वाह गर्नुभएको थियो।
राजनीति मात्र होइन, सामाजिक नेतृत्वमा समेत उहाँको विशेष पहिचान थियो।
उहाँले नवलपरासीको भूमि समस्या समाधान आयोगको अध्यक्षका रूपमा समेत कार्य गर्दै जनताका समस्यामा सक्रिय भूमिका खेलेका थिए।

