गल्कोट सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो गल्कोट एफ.एम.ले यस वर्ष पनि हरितालिका तीजको अवसरमा “नवौँ गल्कोट तीज उत्सव–२०८२” आयोजना गर्ने भएको छ। “आस्था धर्म आमा आकाराः शिक्षित महिला देशको विकास” भन्ने नारासहित भाद्र ६ गते शनिबार गल्कोट बजारमा हुने कार्यक्रममा आमा समूह, महिलाहरू र स्थानीय कलाकारहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत तीज गीत तथा नृत्य प्रतियोगिता र ६० वर्ष माथिका वरिष्ठ महिलाको नृत्य प्रतियोगिता हुने छन्। तीज गीत तथा नृत्य प्रतियोगितामा पहिलो हुने समूहलाई रु ३० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई रु २५ हजार र प्रमाणपत्र, तेस्रो हुनेलाई रु १५ हजार र प्रमाणपत्र, साथै दुई समूहलाई रु ५ हजार र प्रमाणपत्र सान्त्वना पुरस्कार प्रदान गरिनेछ। वरिष्ठ महिलाको नृत्य प्रतियोगितामा पहिलो हुनेलाई रु २,५०० र प्रमाणपत्र तथा दोस्रो हुनेलाई रु १,५०० र प्रमाणपत्र दिइनेछ।
आयोजकका अनुसार प्रतियोगितामा मौलिक भेषभूषालाई प्राथमिकता दिइनेछ र सांस्कृतिक उत्थानमा सहयोग पुग्ने प्रस्तुतिलाई विशेष महत्व दिइनेछ। दर्ता भाद्र ६ गतेसम्म गर्न सकिनेछ र नृत्य प्रस्तुतिको समय सीमा अधिकतम १० मिनेट तोकिएको छ।

