भाद्र कृष्ण अष्टमीको दिन आज देशभर भगवान् श्रीकृष्णको जन्मोत्सव विशेष धार्मिक कार्यक्रम र सांस्कृतिक उत्सवका साथ मनाइँदैछ।
हिन्दू धर्मग्रन्थअनुसार द्वापर युगमा कंशको कारागारमा वसुदेव–देवकीका पुत्रका रूपमा जन्मनुभएका श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा पूजिन्छ। सत्य, धर्म र न्यायको रक्षा गर्दै मानव जातिलाई सदाचारतर्फ प्रेरित गर्ने उहाँको उपदेश श्रीमद्भागवत गीता आज पनि जीवन दर्शनको अद्वितीय स्रोत मानिन्छ।
जन्माष्टमी पर्वमा भक्तजनहरूले बिहानै स्नान गरी व्रत बस्ने, पूजा–आराधना गर्ने, भजन–कीर्तनमा सहभागी हुने र प्रवचन सुन्ने गर्छन्। धेरै स्थानमा रातभर जाग्राम बसेर श्रीकृष्णको नामस्मरण, भक्ति गीत र कथा–वाचनको परम्परा रहँदै आएको छ।
काठमाडौं उपत्यकाका प्रमुख मठ–मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। पाटनको कृष्ण मन्दिर, बूढानीलकण्ठस्थित इस्कोन मन्दिर, कागेश्वरी मनोहराको नवतनधाम लगायतका स्थानमा विशेष कार्यक्रम, झाँकी प्रदर्शन र भजन–कीर्तन आयोजना गरिएको छ। राजधानीका धार्मिक संघसंस्थाले रथयात्रा र शोभायात्रा पनि निकालेका छन्।
धार्मिक महत्त्वका साथै सामूहिक एकताको पर्वका रूपमा समेत मनाइने जन्माष्टमीले समाजलाई सत्य, शान्ति र सद्भावतर्फ उन्मुख गराउने विश्वास गरिएको छ

