बागलुङको ताराखोला गाउँपालिका–१ मा दुर्गबहादुर पाइजा मृत अवस्थामा फेला परेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनको मृत्यु अरिङ्गालको टोकाइका कारण भएको प्रष्ट भएको प्रहरीले जनाएको छ। वडा–१ मा पर्ने मर्स्याङ्दी खोलानजिकै स्थानीय जगबहादुर छन्त्यालको गोठमा मंगलबार बिहान पाइजा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनेबित्तिकै भातखानेडाँडा प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिचौरबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि) देवराज काफ्ले नेतृत्वको टोली पनि दिउँसो घटनास्थल पुगेको थियो।
प्र.ना.नि काफ्लेका अनुसार मृतक पाइजाको शारीरिक अवस्था पहिले देखि नै कमजोर रहेको र दुई दिनअघि अरिङ्गालले टोके पनि समयमै उपचार नगर्दा मृत्यु भएको देखिएको छ। स्थानीयका अनुसार पाइजा लामो समयदेखि घरमै बस्दैनथे, विभिन्न ठाउँमा मजदुरी गर्दै घुम्ने गरेका थिए र अत्यधिक मदिरा सेवन गर्ने बानी थियो। हाल मृतकको शव आफन्तको जिम्मामा राखी गल्कोट नगर अस्पताल हरिचौरमा पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ।

