काठमाडौँ — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हालेका छन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएपछि तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङ हिजो राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि कार्कीले कमाण्ड सम्हालेका हुन्।
कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको थियो। आज बिहान उनले गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालय नक्साल पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
२४ भदौमा जेनजी आन्दोलनका क्रममा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए। त्यसअघि २३ भदौमा उपत्यकामा एआईजी नहुँदा कमाण्ड अस्थायी रूपमा रिक्त थियो। उपत्यका कमाण्ड अघि उनी मानव स्रोत साधन विभागका प्रमुखका रूपमा कार्यरत थिए।

