इपरि न्युजका पत्रकार दिलीप पर्तेलले कामको सिलसिलामा गाउँमा जाँदा आफूमाथि अभद्र व्यवहार भएको गुनासो गरेका छन्। जैमिनी नगरपालिका–३ देमकस्थित वडा कार्यालय पुगेका बेला त्यहाँका स्वास्थ्य चौकी प्रमुख भीम पुनले गालीगलौज गर्दै हातपातको प्रयास गरेको पत्रकार पर्तेलले आरोप लगाएका छन्।
पत्रकार पर्तेलका अनुसार केही समयअघि आफूले लेखेको सरकारी मोटरसाइकल कार्यालय समयमा सिक्न लगेको सम्बन्धी समाचारको बारेमा पुनले पुरानो विषय उठाउँदै अशोभनीय व्यवहार गरेका थिए। “म कामले वडामा गएको थिएँ, पुरानो समाचारकै विषय निकालेर गालीगलौज गर्दै हातपात गर्न खोज्नुभयो,” पर्तेलले भने। उनले सो घटनाबारे जैमिनी नगरपालिकामा उजुरी दर्ता गरिसकेका छन्।
घटनाको जानकारी पाएपछि नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष **राम थापा ‘अविरल’**ले पत्रकारको सुरक्षामा प्रश्न उठ्ने यस्तो व्यवहार सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्। उनले समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वैधानिक अधिकार सबैलाई भए पनि पत्रकारलाई धम्की, गालीगलौज वा हातपात गर्नु आपराधिक कृत्य भएको बताए।
उता, स्वास्थ्य चौकी प्रमुख भीम पुनले आफूबाट गल्ती कमजोरी भएको भन्दै माफी माग्न तयार रहेको प्रतिक्रिया दिएका छन्। तर उनले पत्रकार पर्तेलले दाबी गरेजस्तो हातपात नगरेको दाबी गरेका छन्। “हाम्रो गाउँ–समाजकै मान्छे, पुरानो समाचारबारे सोधेको मात्रै हुँ। त्यसपछि अलि भनाभन भयो,” पुनको भनाइ छ।
उजुरी परेपछि जैमिनी नगरपालिकाले बिहीबार दुवै पक्षलाई छलफलमा बोलाएको छ। छलफलबाट समाधान नभएमा कानूनी बाटो अपनाउन सकिने सुझाव पत्रकार पर्तेलले दिएका छन्।


