गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलोपटक निर्वाचित भएलगत्तै गौरवका योजना भनेर महत्वकांक्षी योजना ल्याए । ती योजनाहरु धेरै चर्चित पनि थिए । नगरले गौरवको योजना भनेपछि प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाख गरी एक करोडको दरले लगानी गरियो । तर क्रमशः ती योजनालाई बजेट विनियोजन हुन छाडेपछि सडकको अवस्था कमजोर छ ।
वडा नं. ४ को डाँडाखेतदेखि खरुवा, चमुवाहुँदै निलुवा जाने सडक अहिले एक किमी कालोपत्रे गरिएपछि रोकिएको छ । अहिले पनि निलुवातर्फ सवारीसाधन जानै नसक्ने अवस्था भएको स्थानीयले गुनासो गरे । गत दशैमा सडक मर्मत गरिएकोमा झन् खाल्डाखुल्डीले सवारी जान नसक्ने बनिसकेको स्थानीयले बताए ।
वडा नं. ९ को लोकमार्गदेखि रिघा जाने सडक पनि गौरवको योजना थियो । तर यो सडकको तीन खण्डको एक खण्ड मात्र स्तरोन्नती भएपछि अलपत्र छाडियो । दशकअघि ट्रयाक खुलेपनि सिधा यातायातका साधन पुग्न कठिन भएकोले यहाँका बासिन्दाले सास्ती खेपेका छन् । रिघादेखि सिसाखानीहुँदै पाण्डवखानी र रणसिंकिटेनीसम्म यो सडक जोड्ने लक्ष सेलाएको छ । आजकल ती सडकमा संघिय, प्रदेश र स्थानीय तहबाट पनि बजेट नपरेको वडा अध्यक्ष तेजबहादुर थापाले बताए ।
रिघालाई पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष थियो । बौद्ध गुम्बा घुम्न पुग्ने धेरैलाई सडक सहज बनाउने योजनामा बजेट बाधक बन्दै गएको वडा अध्यक्ष डम्मर श्रीषकै गुनासो छ । मुख्य सडकमा भने खाल्डा, साँघुरो र भीरको बाटो भएकोले यात्रा गर्न डराउँछन् । स्थानीय लालप्रसाद घर्तीले बजेट निरन्तर पारेर सडकको काम पुरा गर्न आग्रह गरेको बताए । ‘नगरपरिषदले पनि यो सडक बिर्सियो, संघ र प्रदेशको पनि ध्यानाकर्षण गरिएको छैन’ उनले भने, ‘गौरवको योजनालाई कम्तिमा तीन वर्ष बजेट विनियोजन गरेको भए पुरा भैसक्थ्यो ।’
नगरपालिकाले वडा गौरवका योजना भन्दै ११ वटै वडामा ५० देखि ६५ लाख रुपैयाँको एक÷एक वटा योजना छनौट गरेकोमा वडा कार्यालय बनाउने बाहेक अन्य सबै काम अधुरा छन् । ती मध्ये वडा नं. २ मा सभाहल बनाउने कार्यक्रम भने पुरा भइ हरेक वर्ष नगर परिषद पनि यहीं हुने गरेको छ । वडा नं. ३ मा कोट मैदान जाने सडक अलपत्र परेपछि अहिले सघन सहरी विकास कार्यक्रममार्फत बनाउने काम भैरहेको छ । वडा नं. ५ मा भने हरिचौर बजारमा सडक ढलान गरिएको छ । हरिचौरका ग्रामीण बस्तीमा पनि पदमार्ग र सडक स्तरोन्नतीको काम भैरहेको छ । चक्रपथ बनाउने, नगर बस चलाउने, सहश्रधारा र घुम्टेलाई पर्यटकीय क्षेत्र बनाउने जस्ता धेरै काम अगाडि बढ्नै सकेनन् ।
नगरप्रमुख भरत शर्मा गैह्रेले बजेट पर्याप्त नभएको, आन्तरिक श्रोत बलियो नभएको र निरन्तर लगानी गर्न नसक्दा ती योजना अलपत्र भएको बताए । तर जहाँसम्म काम भएका छन् । त्यहाँसम्म राम्रो भएको उनले दावी गरे । ‘वडा नं. ४ को निलुवा पुग्न सकिएन, वडा कार्यालयसम्म त स्तरीय सडकमा हिंडेका छौं’ गैरेले भने, ‘कामलाई प्रभावकारी बनाउन पहल गरेका छौं ।’ कतिपय योजनामा अझैपनि केन्द्रीय र प्रदेश सरकारको बजेट भित्राउन पहल भैरहेको उनले बताए ।
नगर स्तरीय सार्वजनिक सुनुवाईमा पनि स्थानीयले पुर्वाधारमा अब्बल बनाउन सकिनेमा नगरका अगुवाको पहल नभएको टिप्पणी गरेका थिए । स्थानीय दलसिंह खत्रीले नगर अस्पताल नमूना भएझै शिक्षा क्षेत्र पनि नमूना बनाउनुपर्ने, नगरको आफ्नै प्रशासकीय भवन छिटो सक्नुपर्ने सुझाए । भाडाको घरमा बस्दा नगरको लाखौं रकम फजुल खर्च भएकोमा त्यो बच्ने उनको सुझाव थियो ।
पछिल्लो समय दरमखोलामा बनेका विद्युतले स्थानीयको सिंचाइमा परेको असर तथा माछा मार्न नपाएर दरमखोलाको असला चोरी भएको र करेन्ट लगाएर मार्ने क्रम बढेको स्थानीय कौशिला घर्तीले चिन्ता व्यक्त गरिन् । ढोरपाटन न्युजबाट साभार

