चैतेदशैंको नवदुर्गा शुरु भएकोले शनिबार बिहानैदेखी झरी लाग्दा पनि प्रसिद्द कालीका मन्दिरमा भक्तजनको भीड लाग्यो । चैतेदशैं मेलाको अबसरमा बागलुङ कालीका मन्दिरको बाहिरी चहलपहल पनि बढेको हो ।
कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा चैत १० देखि १४ गतेसम्म औपचारिक मेलाको आयोजना गरिएको छ भने मन्दिरमा पूजाका लागि आउने भक्तजन त शुक्रबारदेखिनै भीड लाग्न थालेको हो । सयौं वर्षदेखि मेला लाग्दै आएको कालीकामा गुठीले व्यवस्थापन गराउने भएपछि व्यापारिक स्टल, रमाइलो मेला लगायतको निर्माण कार्य भैरहेको छ । मन्दिर आसपासमा एक सयबढी नयाँ पसल, होटल तथा मौलीक सामाग्री पाइन थालिसकेको छ । ती सबै व्यवसायलाई व्यवस्थित बनाइ अन्य गतिविधि पनि सञ्चालन गरिने अध्यक्ष भूपेन्द्र खड्काले बताए ।
देशभरबाट मेलाको अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकोले मेलालाइ विशेष पर्वको रुपमा लिने गरिन्छ । चैतेदशैंको प्रतिपदादेखि राम नवमीसम्म ५ लाख भक्तजन तथा आन्तरिक पर्यटक आउने अनुमान छ । चैतेदशैकै अवसर पारेर गाउँगाउँ र विभिन्न जिल्लाबाट आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको पनि व्यवस्था गरेको हो ।
मेलामा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, छेलो समेत खेलाइने छ ।
भलिबल प्रतियोगितामा अहिलेसम्म १२ टिमले नाम लेखाइसकेको र १६ वटासम्म टिम बन्ने संभावना भएको आयोजकले बताए । मेलामा राष्ट्रिय खेलाडीहरु समेत आउने गरी तय भएको बताइएको छ । मेला मौलीक खालको हो । गुठीले थप व्यवस्थापनका लागि कार्य गरेकोले यहाँ मौलीक गीत संगीतका कार्यक्रम पनि जोडिनेछ । बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा जस्ता गाउँबाट किसानले वर्षभरी निर्माण गरेका काठ, बाँस र निगालोका सामाग्री मेलामा ल्याउने गरेका छन् । अमलाचौरका चुँदाराले बनाएका काठका ठेकी समेत चैतेदशैंमा बेच्छन् । पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसंग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर यहाँ मेला र पूजा शुरु भएको पाइन्छ ।

