बागलुङ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत ताराखोला गाउँपालिका–५ र बराहखोला–३ हिलमा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।
ताराखोला गाउँपालिका–५ का वडा सभापति ओमबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रम तारा कडेलले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार टेकराज पौडेल, संविधानसभा सदस्य निरज पुन, जिल्ला सभापति जित सेरचन, समानुपातिक उम्मेदवार रेनुका काउचा, महाधिवेशन प्रतिनिधि भरत शर्मा, प्रदेश सभापति तिलक घर्ती लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार टेकराज पौडेलले ताराखोला–बराहखोला क्षेत्रका जनताले सधैं लोकतन्त्र र परिवर्तनको पक्षमा मत दिएको उल्लेख गर्दै अबको निर्वाचनमा पनि कांग्रेसलाई विजयी गराउने विश्वास व्यक्त गरे। “देशमा स्थायित्व, सुशासन र विकासका लागि नेपाली कांग्रेस अपरिहार्य शक्ति हो,” उनले भने, “जनताको भरोसा र समर्थनले मलाई थप जिम्मेवार बनाएको छ।”
उनले क्षेत्रको शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र कृषि विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको समस्या संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा अन्य वक्ताहरूले विगतमा ताराखोला क्षेत्र कम्युनिस्ट दमनमा परेको उल्लेख गर्दै पछिल्लो समय कांग्रेस यहाँ क्रमशः संगठित र सशक्त बन्दै गएको बताए। उनीहरूले लोकतन्त्र, संविधान र स्थायित्वको रक्षा गर्न कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा मतदान गर्न मतदातालाई आग्रह गरे।
🗓️ २०८२ चैत्र १९ बिहीबार 🕝०५: ३६ बिहान

